झन्डै ८ वर्षपछि नेपाली चलचित्रका महानायक राजेश हमाल अभिनयमा फर्किने भएका छन् । हमालले निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल चलचित्र मार्फत लामो समयपछि अभिनयमा कमब्याक गर्न लागेका हुन् ।
आइतबार उनी यो चलचित्रका लागि अनुबन्धित भएका हुन् । निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो ।
हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको चलचित्रमा अनुबन्धित भएको जानकारी गराउदै लेखेका छन्,‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दैछु ।’
आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको चलचित्रको नाम केही दिनमा घोषणा गर्ने निर्देशक भट्टराईले जनाए । निर्देशक दिवाकरले यो चलचित्रको कथावस्तु मनपराएपछि हमाल आफ्नो चलचित्रमा अभिनयका लागि तयार भएको बताए ।
पछिल्लो पटक ‘सकुन्तला’मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि चलचित्रमा देखिएका थिएनन् । बरु उनले म्युजिक भिडियोमा आफूलाई समय दिइरहेका थिए । एक्सन प्रधान रहने चलचित्रमा हमालले झन्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन् ।