‘बुलाकी’को गीत रेकर्ड गरेर पाश्र्व गायनमा डेब्यू गर्दै करण

३२ असार २०८१ ६:२१

‘नेपाल आइडल ५’का विजेता करण परियारले पाश्र्व गायनमा डेब्यूगरेका छन् । उनले ‘बुलाकी’ चलचित्रको गीत रेकर्डिङ गरेर पाश्र्व गायनमा डेब्यू गरेका हुन् । उनलाई गायिका अनु चौधरीले साथ दिएकी छिन् ।

आगामी साउनको ३२ गतेबाट पुनः रिलिजमा आउन लागेको यो चलचित्रको अर्को गीतमा गायिका समीक्षा अधिकारीले आवाज दिएकी छिन् । बाबुल गिरीको शब्द तथा संगीतमा तयार भएका दुबै गीत एक हप्ताको अन्तरमा रिलिज हुनेछ ।

गतबर्ष एक दिन मात्र रिलिजमा आएको यो चलचित्रलाई लिएर दर्शकको उत्साह निकै बढेको देखिन्छ । यसैले, यो चलचित्रलाई पुनः रिलिजमा ल्याउन लागिएको निर्माणपक्षले बताएको छ ।

स्वर्गीय मोती विष्टको प्रस्तुति तथा टोपेन्द्र विष्टको निर्माणमा तयार भएको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । नेपाल र विदेशमा आयोजित विभिन्न महोत्सव, अवार्ड कार्यक्रममा यो चलचित्रले पुरस्कार जित्दै आएको छ ।

शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, राज बहादुर सानेको कथा तथा पटकथा रहेको यो चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश वुढाथोकी, कुलद्धिप अधिकारी, झलनाथ खत्री, उपासना नेम्वाङ लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *