गायिका कमला घिमिरेले अभिनयमा डेब्यु गर्ने भएकी छिन् । उनले चलचित्र ‘माइली’ बाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । कमला पछिल्लो समय ‘लाइभ दोहोरी’बाट एकाएक चर्चामा छिन् ।
निर्देशक बाबु बलामीले निर्देशन गर्न लागेको यो चलचित्रको लागि उनलाई निर्देशक बलामीले अनुबन्धित गराएका हुन् । तर, चलचित्रमा उनको भूमिका के हो भनेर भनिएको भने छैन् । यो चलचित्रका लागि यसअघि प्रियंका कार्की र करिश्मा मानन्धर अनुबन्धित भैसकेका छन् ।
सत्य घटनामा आधारित रहने यो चलचित्रमा महिलाको पीडालाई प्रस्तुत गर्नेछ । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबलक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा यो चलचित्रमा देखाइने बलामी बताउछन् ।
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रको असारको अन्तिमबाट छायांकन गरिने छ । यो चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।