चलचित्र ‘जेरीः अन टप’मा नायिका जसिता गुरुङको प्रवेश भएको छ । नायिका जसिता गुरुङको प्रवेशसङै यो चलचित्रमा कलाकारको लाइनअपमा नयाँ ट्विस्ट आएको हो ।
आगामी साउनको १ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रको लागि यसअघि नायक अनमोल केसी, नायिका आना शर्मा र नायिका आँचल शर्मा फाइनल भइसकेका छन् भने अनमोल केसी र आँचल शर्माले चलचित्रको वर्कशप पनि सुरु गरिसकेका छन् ।
यसैबिचमा नायिका गुरुङको यो चलचित्रमा प्रवेश भएको हो । चलचित्रका लागि जसिता सँग निर्माणपक्षले शनिबार फाइनल कुरा गरेको हो । अब उनले पनि यो चलचित्रको लागि तयारी गर्नेछिन् ।
सुयोग गुरुङले निर्देशन गर्ने यो चलचित्रलाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । उनले यो चलचित्रमा दुबै नायिका लिड भूमिकामा रहेको र दुवैको भूमिका शक्तिशाली रहेको बताउदै यसपटक दर्शकले जेरीः अन टप हेर्दा थुप्रै कुराहरू पाउनुहुने उल्लेख गरे ।
काठमाडौं, मुस्ताङ र लुक्लामा छायांकन गरिने यो चलचित्रको अहिले प्रि–प्रोडक्शनको काम धमाधम चलिरहेको छ ।
यो चलचित्रलाई लिएर नायक अनमोल निकै उत्साहित छन् । त्यस्तै आँचलले पनि निकै मिहेनत गरिरहेकी छन् ।
यो चलचित्रमा दीपक भण्डारीको पनि लगानी रहनेछ । चलचित्रका क्रियटिभ निर्माता रोहित अधिकारी हुन् । त्यस्तै, नायिका जसिता गुरुङले ‘फर्की फर्की’मा नायक अनमोल केसीसँग सहकार्य गरेकी थिइन् ।