सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु गरिएको छ । आजबाट यो चलचित्रको छायांकन ओखलढुंगाको रुम्जाटारबाट सुरु गरिएको हो ।
सोसल–ड्रामा जनरामा निर्माण हुने यो चलचित्र गन्धर्व परिवारको कथामा आधारित रहनेछ । गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भि पौडेलले पहिलो दिनको ओपनिङ दृश्य खिचिएको निर्माणपक्षले जनाएको हो ।
कलाकारहरूको लाइनअप बलियो रहेको यो चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, यो चलचित्रमा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यो चलचित्रको बालकलाकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ ।
निर्देशक सरोज पौडेलको लेखन तथा निर्देशन रहने यो चलचित्रलाई अन्तर्राष्ट्रिय रुपमा चलचित्र वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो । कलाकारहरुको भूमिका बारेमा अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबैकलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले बताएका छन् ।
महेश दवाडीको पटकथा तथा संवाद रहने यो चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहने छ । विनोद पौडेल र प्याट्रिक सुवेदी यो चलचित्रको लगानीकर्ता हुन् । चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको यो चलचित्र निर्माण घोषणा भएदेखी नै चर्चामा छ।