निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘पुजार सार्की’मा नायिका अञ्जना बराइलीले अभिनय गरेकी छिन् । उनको यो दोश्रो चलचित्र हो । अञ्जना बराइलीको पहिलो चलचित्र ‘महापुरुष’ हो।
यो चलचित्रमा उनले स्थानीय सार्कीकी छोरीको भूमिका निभाएकी छन्। उनी समाजले ठुलो जात भन्ने गरेको अर्थात् ब्राह्मणको छोरासँग प्रेममा परेकी हुन्छिन् तर, समाजले भने सम्बन्ध स्वीकार गर्न गाह्रो मान्छ। “त्यो सम्बन्धलाई दिगो सम्बन्धमा परिणत गर्ने बेलासम्म के कति बाधा अड्चनहरू आउँछन् र के कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा मेरो चरित्रले देखाउँछ। म समाजबाट दबिएको पीडित, त्यसमाथि पूजारसँगको सम्बन्धका कारण समाजले बहिस्कार गरेपछि झन् पीडित चरित्रमा छु। सानो जात हुँदाहुँदै पनि प्रेम सम्बन्धले झन् बढी दबिएको र छोरी मान्छे भइसके पछि के कति कुरा फेस गर्नुपर्छ भन्ने कुरा मेरो चरित्रले देखाउँछ”, आफ्नो चरित्रबारे अञ्जना भन्छिन्।
अञ्जनालाई वर्कसपको बेला स्क्रिप्ट पढेदेखि नै आफ्नो चरित्र किन यसरी दबिएको भन्ने चिन्ता परेको थियो। त्यही भएर उनले लेखक विकास सुवेदीलाई बारम्बार यही प्रश्न गरिरहन्थिन्। चलचित्रको चरित्र भन्दा पनि अञ्जना भएर हेर्दा उनलाई ‘मलाई किन यस्तो भूमिका दिइयो?’ भन्ने मनमा लाग्थ्यो, हल्का रिस पनि उठेको थियो।
“त्यो पात्रले बोल्नुपर्ने ठाउँमा बोल्दैन। अति भइसकेपछि जो पनि बोल्छ नि त। म विकास लेखकलाई भनिरहन्थेँ। ‘यस्तो किन यहाँ भयो, यति हुँदा त जो पनि बोल्छ नि त। धेरै पोल्यो भने आत्था त भन्ला नि त’ भनेर सोधिरहन्थेँ। त्यही भएर पनि मेरो पात्रले सम्बन्ध निभाउनका लागि आफूभन्दा ठुलो जात भनिएको मान्छेसँग गरेको सङ्घर्ष एकदमै गाह्रो थियो। मैले बुझ्दा र त्यो पात्र अनुभव गरिरहँदा मलाई निकै गाह्रो भएको थियो”, अञ्जनाले सुनाइन्।
अञ्जनाले यो चलचित्रमा काम गर्नुभन्दा अघि जातीय विभेदका घटनाबारे नसुनेकी भने होइनन्। तर, किन यस्ता घटना हुन्छन् भन्ने कुरा स्क्रिप्ट पढेपछि र वर्कसपमा बसेपछि मात्र थाहा पाइन्। “स्क्रिप्ट पढ्दै जाँदा र स्क्रिप्ट अनुसार दृश्य बनाइरहँदा यहाँ पुगेर यतिको हिंसा हुने रहेछ भन्ने थाहा पाएँ। स्क्रिप्टले यो सबै सहजै बुझाउँथ्यो। स्क्रिप्ट पढिसक्दा यहाँ हिंसाको अवस्था यसरी हुँदो रहेछ भन्ने थाहा भयो,” उनले भनिन् ।
चलचित्र ‘महापुरुष’ हेरेका दर्शकले आफूलाई ‘पुजार सार्की’मा अझ बढी माया गर्नेमा अञ्जना ढुक्क छिन्। “महापुरुषमा म नयाँ मान्छे भएकाले ‘नराम्रो काम गरी’ भनेर कसैले भन्नुभएको थिएन। सिनियर कलाकारको भीडमा आफूले राम्रो काम गरेको भन्ने तारिफ पाएको थिएँ। अञ्जनाले अवसर पायो भने काम गरेर देखाउँछिन् भन्ने कुरालाई मैले ‘पुजार सार्की’मा प्रमाणित गरेकी छु। मेरो हकमा महापुरुष र पुजार सार्कीको मेरो पात्र फरक पात्र हुन्। फरक परिवेश, फरक चरित्रका कारण पनि दर्शकले मलाई माया गर्नुहुनेछ भन्नेमा विश्वस्त छु,” उनी भन्छिन्।
यही बिहीबार बाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको पनि प्रमुख अभिनय रहेको छ। सुबास भुसालले यो चलचित्र निर्माण गरेका हुन्।