जेठ २५ गतेबाट नेपाल र डायस्पोरामा एकसाथ प्रदर्शन हुने चलचित्र ‘गाउँ आएको बाटो’को अमेरिका प्रिमियर तय भएको छ । नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले ओपनिङ र क्लोजिङ फिल्मको घोषणा गर्दै अमेरिका प्रिमियर तय गरेको हो ।
जुन २० मा यो चलचित्रको स्क्रिनिङ हुने निर्माण पक्षले जनाएको छ । त्यस्तै, ओपनिङ चलचित्रको रुपमा सुब्बा निर्देशित यो चलचित्रको प्रिमियर तय गरिएको निर्देशक सुब्बाले जनाए ।
“कहिलेकाहीँ गाउँ आउने बाटोले गाउँलाई सहरसँग जोड्छ वा सहरमा तान्छ, बसाइँसराइ, आधुनिकतासँगै गाउँ नै रित्तो पनि बनाउने गरेको छ, हामीले यस्तै विषयलाई एउटा परिवारको आँखा वा भोगाइबाट व्यक्त गरेका छौँ, यो हाम्रो ग्रामीण भेगको कथा हो”, निर्देशक सुब्बाले भने ।
सन् २०२३ मा टोरन्टोमा विश्व प्रिमियरसँगै बुसान, मुम्बई, बेइजिङ लगायतका प्रसिद्ध फेस्टिभलमा सहभागिता समेत जनाएको यो चलचित्रले गाउँमा बाटोले विकाससँगै के–के ल्याएको छ भन्ने तथ्यलाई एउटा परिवारमार्फत देखाएको छ।
चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ ।
महेश राई र निर्देशक सुब्बाले लेखेको यो चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङ र हेडी लीले सङ्गीत भरेका छन् ।