ट्राभल लभ स्टोरीको जनरामा निर्माण गरिएको चलचित्र ‘लन्डन टु पेरिस’को दोस्रो गीत ‘चाहन्छु यो माया’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको गीतमा एसडी योगीको सङ्गीत तथा राम अविरल विष्टको शब्द समावेश गरिएको छ ।
सार्वजनिक गीतको भिडियोमा साम्राज्ञी राज्य लक्ष्मी शाह, निश्चल खड्का र गरिमा शर्मा बिचको त्रिकोणात्मक प्रेम देखाइएको छ । संगीतकार योगी र नभिता पौडेलको स्वर रहेको गीतको सङ्गीत निर्माता रिकेश गुरुङ हुन् ।
केही दिन अगाडि निर्माणपक्षले चलचित्रको टिजर सार्वजनिक गरेको थियो । तर, उक्त टिजरले खासै दर्शकको ध्यान तान्न नसकेपछि निर्माणपक्षले अहिले चलचित्रको यो गीत सार्वजनिक गरेको हो । यो गीतले दर्शकको ध्यान केन्द्रित गर्न सकेको खण्डमा निर्माणपक्षलाई केही राहत पक्कै मिल्नेछ।
घनश्याम लामिछाने निर्देशित यो चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले नेपालभर वितरण गर्नेछन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यो चलचित्र गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको सहकार्यमा निर्माण गरिएको हो ।
जेष्ठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रमा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी लगायतका कलाकारको अभिनय छ । निश्चल र गरिमाले यही चलचित्रबाट चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन् ।