नेपालमा छायांकनका लागि विदेशी चलचित्रका निर्मातालाई आकर्षित गर्ने नीति लिएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हलिउड र बलिउडका चलचित्र निर्मातालाई नेपालमा छायांकनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्द्धन गरिने जानकारी दिएका छन् ।
सरकारले अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनको लागि आकर्षक गन्तव्य बनाइने नीति लिएको थियो । तर, त्यो कार्यान्वयन हुन सकेको देखिँदैन । एकद्वार नीति नहुँदा विदेशी निर्माताहरु नेपालमा चलचित्र छायांकनका लागि आकर्षित हुन सकेका छैनन् ।
नीति तथा कार्यक्रममा भने एउटै कुरा हरेक वर्ष दोहोरिरहेको हुन्छ । गत वर्षको तुलनामा सरकारको नयाँ नीति तथा कार्यक्रममा नेपाली चलचित्र क्षेत्र प्राथमिकतामा पनि पर्न सकेको छैन ।
अघिल्लो वर्ष समाज रुपान्तरणका लागि सङ्घर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित ऐतिहासिक चलचित्र वृत्तचित्र तथा स्वदेशी फिल्म निर्माणलाई प्रवर्द्धन गरिने नीति लिइएको थियो ।