विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह सहभागी भएका छन् । आज अर्थात मे १४ देखि २५ तारिखसम्म हुन लागेको यो फेस्टिभलको ७७औं संस्करणमा सहभागी हुन मेयर शाह सोमबार साँझ फ्रान्सतर्फ प्रस्थान गरेका हुन् । उनीसहित उनका सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि सहभागी भएका छन् ।
कान्स फिल्म फेस्टिभलमा सहभागीता जनाउन लागेका मेयर बालेनले त्यहा तीन दिन बिताउने जनाइएको छ। सन् २०१४ देखि कान्सका मेयर तथा २०२१ देखि फ्रान्सका एसोसिएशन अफ मेयर्सका अध्यक्ष डेविड लिस्नार्डको निमन्त्रणामा मेयर शाहले फेस्टिभलमा सहभागिता जनाउन लागेका हुन् ।
उक्त कार्यक्रमका अलावा कान्सका मेयर लिस्नार्डसँग पनि बालेनको भेटवार्ता तय छ । फेस्टिभलको रेडकार्पेट तथा चलचित्र प्रिमियरसहित अन्य केही कार्यक्रममा समेत सहभागी हुनेछन् । त्यस्तै, बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना समेत गरिएको छ ।त्यहाँ उनले फेस्टिभलका अध्यक्षसँग भेट गर्नेछन् ।
काठमाडौं महानगर आफैं पनि यस वर्षदेखि चलचित्र फेस्टिभल गर्ने तयारीमा छ । यसैले फान्स फेस्टिभलमा मेयर शाहको सहभागितालाई विशेष रुपमा हेरिएको छ । यो फेस्टिभलमा उनी सहभागी हुने भएपछि चलचित्रकर्मीहरुले खुसी व्यक्त गरेका छन् ।
यस वर्ष नेपालबाट कुनै चलचित्र छनोट नभएपनि नेपालमा छायांकन भएको ‘द सेमलेस’ अन रिगार्ड विधा र साम्तेन भुटियाको निर्देशनमा तयार भएको चलचित्र नेपाली ‘तारा : अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् ।