चलचित्र ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’ निर्माण हुने भएको छ। वि.सं २०७२ सालमा रिलिज भएको यो चलचित्रको सिक्वेलको रुपमा यसको निर्माण गर्न लागिएको हो ।
निरज महर्जनले निर्देशन व्गर्ने यो चलचित्रलाई रौनकविक्रम कँडेलले निर्माण गर्दैछन्। यो चलचित्रमा नायक विनय श्रेष्ठ र नायिका सुपुष्पा भट्टको मुख्य भूमिका रहनेछ। त्यस्तै, चलचित्रमा कामेश्वर चौरासियाको पनि भूमिका रहनेछ । विनय र कामेश्वर अघिल्लो चलचित्रका मुख्य पात्र हुन् भने यसको सिक्वेलमा सुपुष्पाको प्रवेश भएको छ । ‘रेशम फिलिली’मा विनय र मेनुका प्रधानको मुख्य भूमिका रहेको थियो।
यो चलचित्रलाई आकाश बरालले लेखेका हुन् । सहनिर्मातामा सुरज बम र एनी थापा छन् । यो चलचित्र निर्माणमा विनयको कम्पनी भी–मोसन पिक्चर्स पनि जोडिएको छ भने थापा भी–मोसन पिक्चर्सकी प्रमुख तथा अभिनेता विनयकी श्रीमती हुन् । मनोज पण्डित चलचित्रका स्क्रिप्ट डाक्टर हुन् ।
सोसल–कमेडी जनरामा निर्माण हुने यो चलचित्रले वर्तमान नेपाली समाजलाई कटाक्ष गर्नेछ । अबको केहीदिनमै छायांकन सुरु हुने यो चलचित्रको पहिलो भागको ‘पिरतीको छाता’ बोलको गीत अहिले पनि उत्तिकै चर्चित छ।