रेखा थापाको ‘उपहार’लाई प्रिमियरमा प्रशंसा

२५ फागुन २०८० ५:२२

आजबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘उपहार’लाई प्रिमियरमा तारिफ मिलेको छ। बिहीवार राजधानीमा आयोजना गरिएको ग्राण्ड प्रिमियर यो चलचित्रलाई उत्कृष्ट प्रतिकृयाका साथ तारिफ मिलेको हो। चलचित्र हेर्ने प्राय: सबैले चलचित्र निकै गज्जब बनेको बताए।

प्रिमियरमा ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय पूजा शर्मा र बेनिशा हमाल, अभिनेतात्रय मुकुन भुषाल, समर्पणजंग कार्की, तेज गिरी,नायक, नायिका, निर्देशक, प्राविधिक,चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो ।

प्रिमियर समारोहमा उपस्थित हुन नसकेकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले भिडियो संदेशमार्फत सबैलाई यो चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् । उनले ‘अब उपहार हाम्रो नभई दर्शकको भएको छ । चलचित्र हेरेर कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । हामी खुल्ला हृदयले स्वागत गर्नेछौँ। यो चलचित्रमा नारीको सङ्घर्षसँगै सक्षमता पनि देखाईएको छ । स्वाभिमानी महिलाको कथा हो ।’ अभिनेत्री थापाले भनिन्

निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो चलचित्रको प्रिमियरमा पुगेका निर्देशक सुदर्शन थापाले कमर्सियल चलचित्र कस्तो हो भनेर ‘उपहार’ले बताउने तर्क गरे । उनले भने–‘नेपाली चलचित्र विभिन्न धारका चलचित्र भन्ने सुनिन्छ । तर, चलचित्रको एउटै धार हुन्छ, मूलधार । यो पूर्ण रुपमा मूलधारमा बनेको चलचित्र हो । यसले उठाएको विषयवस्तु, प्रस्तुति, कलाकारको अभिनय सबै उत्कृष्ट छ ।’

यस्तै, निर्देशक शोभित बस्नेतले पनि नेपाली चलचित्र क्षेत्रमा अर्कै ट्रयाकमा भड्किरहेको समयमा ‘उपहार’ले फेरि सही बाटोमा ल्याएको बताए ।

मोफसलबाट काठमाडौँ आएर सङ्घर्ष गर्नेको कथालाई महिला पात्रमार्फत चित्रण गरिएको चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, विनोदकुमार पौडेललगायत कलाकारले अभिनय छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र वितरण काठमाडौँ उपत्यकामा करण श्रेष्ठ र उपत्यका बाहिर एफडी कम्पनीले गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *