चलचित्र ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुति रहेको यो चलचित्रको फस्टलुक माघे संक्रान्तिको अवसर पारेर मंगलबार सार्वजनिक गरिएको हो । चलचित्रको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ ।
सार्वजनिक पोस्टरमा दुईवटा कलाकार देखिएका छन् । एकजना राजर्षी पहिरनमा रहेको देखिन्छन् भने अर्को व्यक्ति नग्न अवस्थामा प्रस्तुत गरिएको छ। राजर्षी पहिरनमा रहेका व्यक्तिले शीरमा श्रीपेच र हातमा राजदण्ड बोकेर उभिएका छन्, जसले उनी राजा भएको संकेत गर्दछ । उनको अगाडि कुर्सीमा बसेका नग्न व्यक्ति शारीरिक रूपमा निकै कमजोर देखिन्छन् ।
फस्टलुक पोस्टर र स्लोगनको कारणले चलचित्रले दर्शकहरूलाई गहिरो सन्देश दिने अपेक्षा गरिएको छ । निर्माण पक्षले फस्टलुक पोस्टर सार्वजनिक गरेसँगै बाँकी सामग्री ट्रेलरमा आउने बताएको छ । जसअनुसार अब ट्रेलर सार्वजनिक भएपछि थप जानकारी पाइनेछ ।
चलचित्रको फस्टलुक पोस्टरले दर्शकमा उत्सुकता जगाउने निश्चित छ । परिच्छेद सेनले निर्देशन गर्ने चलचित्रको कथा पनि उनी स्वयंले लेखेका छन् ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । बिराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए भने निर्देशक सेनले ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए ।
चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का रहेका छन् । यो चलचित्र दसैँको फूलपातीमा आउने निर्माण टिमले बताएको छ ।