चम्कियो अनमोलको स्टारडम, ३ दिनमा ‘ए मेरो हजुर ४’को कमाई २ करोड माथि

४ वैशाख २०७९ ७:२१

साउथको ठूलो हिन्दी डब चलचित्र आउँदा पनि नडराई रिलिज गरिएको नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ले बक्स अफिसमा इनिसियल व्यापार सुखद गरेको छ ।

यो चलचित्रले बिहिबार नयाँ बर्षको दिनमा ८८ लाखको व्यापार गरेको वितरक गोविन्द शाहीले जानकारी दिए । यस्तै, चलचित्रले शुक्रबार ६६ लाखको ग्रस कलेक्शन गरेको छ । शनिबार चलचित्रको व्यापार नयाँ बर्षको जस्तै छ । शनिबार चलचित्रले ८९ लाखको ग्रस कलेक्शन गरेको वितरक शाहीले बताए ।

चलचित्रको बम्पर व्यापारले निर्माता उत्साहित छन् । आजबाट चलचित्रको व्यापारमा केही कमी देखिएको छ । ३ दिन लामो विकेन्ड मनाएर मानिसहरु काममा फर्किएकाले पनि चलचित्रको व्यापार केही कम हुने निश्चित छ ।

वितरक शाहीका अनुसार, काठमाडौं बाहिर चलचित्रको माग बढेपछि केही शोजहरु बढाइएको छ । काठमाडौंमा भने यो चलचित्रलाई अझै केही दिन साउथ चलचित्र ‘केजीएफ २’ले असर गर्ने देखिएको छ ।

नायक अनमोल केसीले यसपटक पनि आफ्नो स्टारडम पुष्टी गरेका छन् । चलचित्रलाई इनिसियल रुपमा हिट बनाउन स्टारको स्टारडम महत्वपूर्ण हुन्छ । अनमोलले आफूलाई फेरि स्टारको रुपमा पुष्टी गरेका छन् ।

झरना थापा निर्देशित यो चलचित्रमा अनमोल, सुहाना थापा, सलोन बस्नेत मुख्य भूमिकामा छन् । सुनिलकुमार थापा चलचित्रका निर्माता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *