‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नाराका साथ आयोजित दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा सम्पन्न भएको छ । समिटमा चलचित्र, पर्यटन र जलवायु परिवर्तनका विषयमा विविध बहस र छलफलहरू भए ।
समारोहको प्रमुख अतिथि मुगु जिल्ला समन्वय समितिका प्रमुख मनजन बहादुर कार्की थिए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु कुमार भाम, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, वरिष्ठ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता प्रदीप खड्का, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीलगायतको सहभागिता रहेको थियो ।
नेपाली चलचित्र प्रवर्द्धनसँगै कर्णाली क्षेत्रको पर्यटन र जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्य लिएको यो महोत्सवले चलचित्र, पर्यटन र जलवायु विषयमा केन्द्रित दुई वटा सत्रमा सम्पन्न समिटमा स्थानीय संस्कृति, भाषा, पर्यटन पूर्वाधार र अन्तर्राष्ट्रिय बजारमा चलचित्रमार्फत कर्णालीको प्रतिनिधित्व गर्ने विषयमा व्यापक छलफल भयो ।
महोत्सवका सद्भावना दूतसमेत रहेका चलचित्र अभिनेता प्रदीप खड्काले रारा क्षेत्र मात्र नभई विश्वभर चलचित्र छायाङ्कनका लागि उत्कृष्ट स्टुडियोको रूपमा रारा ताल र वरपरका प्राकृतिक सम्भावनाहरूलाई उजागर गर्न यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको बताए । ‘प्रेम गीत २’ चलचित्रको छायाङ्कन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णाली क्षेत्र विशेष गरी राराको अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनमा चलचित्रको प्रभावको चर्चा गरे । चलचित्र पर्यटन प्रवर्द्धन र भाषा, रीतिरिवाज संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने शक्तिशाली माध्यम भएको उनको धारणा थियो ।
महोत्सवको सह आयोजक रहेको संस्था चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डिसीले कर्णाली चलचित्र महोत्सवले विभिन्न स्थानमा आयोजना गरेका कार्यक्रमहरूले चलचित्र क्षेत्रका नयाँ सम्भावनाहरूको खोजी गरेको र गाउँ-गाउँसम्म चलचित्र प्रवर्द्धन गर्न खेलेको भूमिकाको प्रशंसा गरे । चलचित्र विकास बोर्डले बलिउडका केही प्रभावशाली व्यक्तिहरूलाई बोलाई रारामा समेत चलचित्रका गतिविधिहरू गर्ने योजना रहेको जानकारी दिए ।
यसअघि सुर्खेत र दैलेखमा महोत्सव सम्पन्न भइसकेको छ भने अवार्ड समारोह काठमाडौंमा आयोजना गरिनेछ । महोत्सवले चलचित्रमार्फत पर्यटन र जलवायु परिवर्तनको सन्देश फैलाउने, चलचित्रकर्मीलाई कर्णालीमा भित्र्याउने, आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।