‘ऐना झ्यालको पुतली’ घर भित्रकै कथा हो’: निर्देशक

७ भदौ २०७९ १३:५८

भदौको २४ गतेबाट चलचित्र ‘ऐना झ्यालको पुतली’ रिलिज हुँदैछ । यो चलचित्रका निर्देशक सुजित बिडारीले आफ्नो अनुभवजन्य भोगाईको परिणाम भएको बताएका छन् । पत्रकारहरुसँग साक्षात्कार गर्दै उनले भुइँचालोले सिर्जना गरेको निस्सारताबिच आफ्नै घरका महिलाले गरेको संघर्षको कथालाई उठान गरेको बिडारीको भनाई छ ।

‘म आमा र दिदीहरूको संघर्ष हेरेर हुर्किएँ । यो फिल्मलाई मेरो भोगाइको प्रतिविम्ब भन्दा पनि हुन्छ । फिल्ममा देखिने आमा, दिदी भाइ मेरै परिवारका सदस्य हुन् । यो कथा म जस्तै धेरै परिवारको कथा हो,’ उनले भने, ‘मैले जसरी यो उमेरमा आएर आमा र दिदीहरूको संघर्षलाई हेरेँ त्यसैगरी फिल्म पनि भाइको आँखाबाट आमा र दिदीले गरेको संघर्षमा साक्षी बसेको कथा हो ।’

भदौ २४ लाई प्रदर्शन मिति तोकेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री शीर्ष भूमिकामा छन् । फिल्ममा सिरु बिष्टबाहेक बाँकी सबै कलाकार नन एक्टर हुन् । निर्देशक तथा कास्टिङ निर्देशकले संखुवासभाका स्कुलबाट अडिसन गरेर उनीहरूलाई अभिनयका लागि तयार गराएका हुन् । निर्देशक सुजित बिडारीले सहरमा हुर्किएका व्यावसायिक कलाकारबाट गाउँले जनजीवन विश्वसनीयताका साथ देखाउन सम्भव नहुने ठम्याइसहित नयाँ कलाकार लिएर काम गरेको बताए । तर उनले नन–एक्टरबाट काम गराउन भने सजिलो अनुभव नरहेको बताए ।

‘पहिलो कुरा त नन–एक्टरसँग काम गर्न गाह्रो हुनेरैछ भन्ने थाहा पाएको भए सायद काम गर्दिनथेँ होला,’ सुजितले ठट्यौली गर्दै सुनाए, ‘मेरो चलचित्रले गाउँको पनि अलि पुरानो समयको कथा भन्छ । गाउँको चरित्रले गर्ने गतिविधिमा कुनै कमजोरी नहोस् भनेर त्यही परिवेशमा हुर्केका चरित्रलाई कलाकार बनाउने निर्णय गरेका थियौँ । उहाँहरूले मेरो सोचलाई सार्थक बनाएको महसुस गरेको छु ।’

चलचित्र अभिनयको थुप्रै अनुभव संगालेकी सिरु बिष्टले स्क्रिप्ट पढ्नुअघि आफू चलचित्र गर्ने कुरामा विश्वस्त नभए पनि स्क्रिप्ट पढेसँगै आफू फिल्म गर्न तयार रहेको अनुभव सुनाइन् ।

‘निर्देशकले भन्दा मात्रै म गर्न सक्दिन होला जस्तो लागेको थियो तर स्क्रिप्ट पढेसँगै यो त मैले भोगेकै कथा त रैछ नी भने जस्तो भयो । त्यसैले मैले नाइँनास्ती गरिन्,’ उनले थपिन् , ‘मलाई घाँस काटेको, दुध दुहेका, गुन्द्री बुनेको, डोको नाम्लो आदि गरेको अनुभव थिएन । यस्ता धेरै कुरा मैले सिकेँ ।’

उनले ट्रेलरले गाउँले परिवेशमा बनेको दिदी भाइको कथा जस्तो छनक दिए पनि चलचित्रले हरेक परिवेशमा रहेका परिवारलाई आफ्नो कथा भनेको आभास हुने जिकिर गरिन् । ‘अलि हुने खाने वर्गका सपना फरक होलान् र गरिबका फरक । तर सपना त सपना हो नी । वस्तु फरक होलान् तर आकांक्षा राख्ने भावना एउटै हुन्छ । चलचित्रले हाम्रो यस्तै आकांक्षाको कथा प्रस्तुत गर्छ । त्यसैले यो चलचित्र सबै वर्गका लागि हो भन्ने हाम्रो ठम्याइ छ,’ उनले भने ।

आइसफल प्रडक्सन, लोकल सिनेमा र आर्को फिल्मस्को संयुक्त ब्यानरमा बनेको चलचित्रलाई प्रबिन स्याङ्बो, आकाश पौडेल, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् ।

दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यू करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको चलचित्रबाट निर्देशक सुजित बिडारीले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए ।

त्योबाहेक चलचित्र एसिया प्यासिफिक स्क्रिन अवार्ड र जेलिन अवार्डमा छानिएको थियो । स्वीजरल्यान्डको फ्रिवर्ग इन्टरनेसनल चलचित्र फेस्टिभलमा समेत प्रदर्शन भएको चलचित्रलाई स्वीजरल्यान्डका थुप्रै स्कुलमा देखाइएको निर्माता रामकृष्ण पोखरेलले जानकारी गराए ।

उनले पछिल्लो समय हलमा रिलिज नेपाली चलचित्रले अपेक्षित व्यापार गरिरहेको तथ्यसँग आफूहरू परिचित भए पनि आफूहरूले व्यापार भन्दा पनि आफ्नो र आफू अघिको पुस्ताले जीवन जिउन गरेको संघर्षलाई ‘ट्रिब्युट’ गर्न चलचित्र प्रदर्शन गर्न लागेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *