‘प्रेमगीत ३’ले भारतमा तरङ्ग, नेपालमा उमङ्ग


विजय ‘आवाज’
केही बर्ष अगाडि जतिबेला नेपालमा मल्टिप्लेक्सहरु थपिदै थिए, सो समयमा एक जना निर्देशकले मलाई फोन गरेर आफ्नो चलचित्र एक मल्टिप्लेक्समा लाग्दैछ भन्ने सुनाए । त्यतीबेला उनी काठमाडौंको एक मल्टिप्लेक्समा आफ्नो चलचित्र लाग्दा मात्र पनि खुशी थिए ।
त्यतीबेला जसरी ती निर्देशक चलचित्र मल्टिप्लेक्समा लाग्दा खुशी थिए, अहिले धेरै निर्माता चलचित्रले मल्टिप्लेक्समा राम्रो शो पाउँदा खुशी हुन्छन् । मैले यी कुराहरु माथि उठाउनुको कारण के हो भने, अझै पनि हामी आफ्नै देशमा राम्रो शो पाएर चलचित्र चलाउन पाउँदा नै आनन्दित छौं । चलचित्रले कती व्यापार गर्यो, फाइदा घाटा के भयो भन्ने त दोश्रो कुरा भयो ।
नेपाली चलचित्रले ५ दशक भन्दा लामो समय बिताउँदा पनि अझै बजार खोजेन । विदेशमा रिलिज भएर करोडौं कमाएका समाचारको पछि लागेर आत्मसन्तुष्टीमा रमाउँदै कैयौ निर्माता मख्ख छन् । करोडको कमाईको गफ गरेर लाख पनि कमाउन नसक्दाको पीडा सायद निर्माताको मनमा नै होला ।
कोरोनाका कारण लकडाउन भएपछि नेपाली चलचित्रले ओटीटी प्लेटफर्म पनि खोज्यो । तर, नेपालमै खुलेका केही यस्ता प्लेटफर्मले चलचित्रका लागि करोडौं तिर्न सकेनन् र अहिले चुपचाप छन् । अर्थात, चलचित्रका लागि नेपालमै गतिलो दिमाग लगाएर सोचिदिन कोही पनि भएन । सरकारको आश त गर्दै नगरौं ।
वि.सं २०७६ सालको चैत्र २८ गते प्रदर्शन मिति तय गरेर निर्माता तथा निर्देशक सन्तोष सेन आफ्नो चलचित्र ‘प्रेमगीत ३’को प्रचार सुरुवात गर्ने तयारीमा थिए । तर, कोरोनाले विश्वलाई छपक्कै छोपिदिदा सन्तोषको चलचित्रले पनि तोकिएको मितिमा प्रदर्शन हुन पाएन ।
कोरोना कतिका लागि काल बन्यो, कतिका लागि बेहाल । तर, सन्तोषले यही समयमा नेपाली चलचित्रको बजार विस्तार गर्न खोजे ।
साढे २ बर्ष भन्दा बढी समय उनले बजार खोज्नमा लगाएको कुरालाई विर्सिएर आज ‘प्रेमगीत ३’ हिन्दी भाषामा पनि रिलिज हुँदैछ भन्ने कुरा मात्र हेर्नु हुदैन । करोड खर्च गरेर भारतमा सन्तोष सेन, नायक प्रदीप खड्का लगायत दौडधुप गर्दै गर्दा कतिपयले उनीहरुको कामलाई अर्थहिन मिहिनेतको रुपमा वुझेका थिए ।
आज बिहानै भारतीय मिडिया र बलिउडका चर्चित ट्रेड पण्डितहरुले नेपाली चलचित्र पहिलो पटक भारतीय बजारमा हिन्दी भाषामा नै रिलिज हुन लागेको ट्विट गरिरहँदा नेपाली दर्शक र चलचित्रकर्मीहरुमा छुट्टै उमंग छायो । ट्विटरमा ‘प्रेमगीत ३’ले ट्रेन्ड गर्न थाल्यो । नेपाली चलचित्रले भारतीय बजारमा पाएको प्रवेशले सामाजिक संजाल रंगिएको छ ।
‘प्रेमगीत ३’को भारतीय बजार प्रवेश, सन्तोष सेन र उनको टिमको मात्र सफलता होइन । यसलाई सिंगो नेपाली चलचित्र क्षेत्रले अपनत्व गर्न सक्नुपर्छ ।
हुनत, एउटा मेकर र कलाकारको चलचित्र चल्दा अरुले रक्सी फोडेर दुःख मनाउने स्थान हो, नेपाली चलचित्र क्षेत्र । यसैले, ‘प्रेमगीत ३’ले भारतमा तरङ्ग ल्याउँदै गर्दा धेरै नेपाली चलचित्रकर्मीमा मनदेखिकै उमङ्ग छाउछ भन्ने कुरामा मलाई विश्वास छैन ।
तर, भारतीय बजारमा यो चलचित्रले तरङ्ग भने ल्याएको छ । चलचित्रले भारतमा कस्तो व्यापार गर्छ, त्यसको पछि लाग्न आवश्यक छैन । किनकी, यतिबेला नेपाली चलचित्र भारतीय बजारमा प्रवेश गर्नु, भारतका चर्चित शहरहरुमा होर्डिङ बोर्डमा टाँसिनु र भारतका चर्चित ट्रेडहरुले ट्विट गर्नु नै आफैमा उपलब्धीमुलक हो ।
किनकी, यी प्रचारले नेपाली चलचित्र पनि छ र भन्ने समेत थाहा नभएका हजारौलाई एकपटक नेपाली चलचित्र क्षेत्रको बारेमा सोच्न वाध्य बनाइदिएको छ ।
हामी नेपालका एक सय हलमा ४०–५० शोमा मात्र रमाएर कती समय बस्ने ? नेपाली बजारबाट एकाध चलचित्र बाहेक अधिकांशले घाटा व्यहोरेको अवस्थामा निर्माता हतोत्साही छन् । यस्तो अवस्थामा, विश्व बजारमा नेपाली चलचित्रको गर्विलो उपस्थितीलाई सबैले स्वागत गरौं । सन्तोष सेन र उनको टिमले गरेको मिहिनेतलाई कदर गर्दै आफू पनि भारतसँगै अन्य बजारमा चलचित्रलाई कसरी लैजान सकिन्छ भनेर लागौं ।
चलचित्र विकास बोर्डमा भर्खरै मात्र नियुक्त भएका नायक भूवन केसीले पनि सरकारी तवरबाट यसमा अझै पहल गर्न आवश्यक छ । यसले, नेपाली चलचित्र बनाउने मेकरलाई त प्रोत्साहित गर्छ नै, देशका ठूला व्यापारीहरुले समेत नेपाली चलचित्रमा लगानी गर्ने अवस्था आउनेछ ।
सन्तोष सेन र उनको टिमलाई वधाई तथा शुभकामना ।