एम.एम मोस पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त सम्पन्न गरिएको छ । सोमवार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभमुहूर्त गरिएको हो ।
सरस्वती पूजाको अवसर पारेर चलचित्रको मुहूर्त गरिएको हो । यो चलचित्रमा चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता हरिवंश आचार्य, किरण केसी, अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको अभिनय रहनेछ ।
यो चलचित्रको कार्यक्रममा मुख्य कलाकारहरु अभिनेता हरिवंश आचार्य, प्रियंका कार्की, स्वस्तिमा खड्का लगायत उपस्थित थिए । यो चलचित्रको मुहूर्त भएसँगै आजदेखि नै चलचित्रको प्रचारप्रसार सुरु भएको आचार्यले बताए । उनले चलचित्र एक वर्ष लगाएर लेखेको र चलचित्र देश बनाए जस्तै भएको बताए । देश बनाउँदा पनि बिग्रिएपछि सकिने र चलचित्र पनि बिग्रिएपछि सकिने उनले टिप्पणी गरे ।
त्यस्तै, अभिनेता किरण केसीले सबैको मेहनतले चलचित्र सोचेभन्दा धेरै नै राम्रो हुने बताए । कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई मन लागेको टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् ।
यता, अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रमा काम गर्न पाउँदा धेरै खुसी रहेको जिकिर गरिन् । उनले आफू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ अभिनित सिरियलहरुमा काम गर्ने इच्छा रहेको र आज आएर चलचित्रमा काम गर्न पाउँदा धेरै खुसी लागेको बताइन् ।
एदीपेन्द्र के. खनालको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको निर्मातामा सरोज ओली र मोहितवंश आचार्य रहेका छन् ।